FAQs Complain Problems

समाचार

जलजला गाउँपालिका

Map of Jaljala Rural Municipality along with ward divison

नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु  र ७५३ वटा स्थानीय तहहरुमध्ये  गण्डकी प्रदेश पर्वत जिल्ला अन्तर्गत पर्ने एउटा स्थानीय तह जलजला गाउँपालिका हो । ऐतिहासिक तथा पौराणिक महङ्खवको कालञ्जर हम्पाल पर्वतको उच्च शिखर र प्रसिद्ध कृष्णागण्डकीको तटसम्म विस्तारित यस गाउँपालिका पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । यो गाउँपालिका पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महङ्खवपूर्ण र सुन्दर गाउँपालिका हो ।
नेपाल सरकारको मिति २०७३ साल फागुन ३० गतेको निर्णयअनुसार पर्वत जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स. र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका सातवटा स्थानीय तहहरु
(जलजला, मोदी, महाशिला, पैयुँ एवम् बिहादी गरी ५ वटा गाउँपालिका र कुश्मा तथा फलेवास सहित २ वटा नगरपालिका¬) मध्ये जलजला गाउँपालिका एक हो । साविकमा कायम रहेका बाँसखर्क, माझफाँट, लेकफाँट, शालिजा, धाइरिङ, नागलीवाङ र बनौं सहित सातवटा गा.वि.स. हरुलाई समावेश गरी नौ वटा वडा रहेको जलजला गाउँपालिकाको गठन गरिएको हो ।
हालको मोदी र जलजला गाउँपालिकाको उत्तरी खण्डमा फैलिएर रहेको पौराणिक र ऐतिहासिक महङ्खव बोकेको कालञ्जर हम्पाल पर्वतको काखमा अवस्थित प्रसिद्ध सिमसार क्षेत्र जलजला भन्ने स्थानको नामबाट यस गाउँपालिकाको नाम ‘जलजला’ रहन गएको देखिन्छ । पौराणिककालमा देवराज इन्द्रले बनाएको भनिएको सरोवर संभवतः यही जलजला नै थियो र यो मानसरोवर जत्तिकै पवित्र थियो भनी वृहननारदीय पुराणको पुरुषोत्तम महात्म्यममा उल्लेख गरिएको छ । जैविक विविधताले भरिपूर्ण रहेको, अनेकौं प्रजातिका चराचुरुङ्गी, जनावर, रुख विरुवा र जडिबुटिहरु पाइने यो क्षेत्र पर्या पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्यस्थलका रुपमा स्थापित हुनसक्ने सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ । जलजलामा चौबीसी राज्यको अस्तित्वकालमा पर्वत राज्यका राजा डिम्वबमले मुस्ताङ र पर्वतबीचको व्यापारका लागि यही जलजलालाई व्यापारिक सामान सङ्ग्रह गर्ने स्थल बनाएका थिए । राजा डिम्बवमले मुस्ताङबाट ल्याएका नुन, ऊन लगायतका सामग्री यही जलजलामा ल्याएर राख्ने गरेको तथ्य इतिहासमा भेटिन्छ। विगतमा लेसपार, देउपुर तथा आसपासका स्थानीयबासीहरुले भोटमा नुन लिन जाँदा यही जलजलाको मार्ग प्रयोग गर्ने गरेको पाइन्छ ।
यस गाउँपालिकाको पूर्वी सिमानामा मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको भाग, पश्चिम र उत्तरी भागमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका, दक्षिणमा म्याग्दीकै बेनी नगरपालिका र बागलुङ जिल्लाको बागलुङ नगरपालिका (कालीगण्डकीको सिमाना) पर्दछ । यस गाउँपालिका २८० १६’ ०१” देखि २८० २३’ २९” उत्तरी अक्षांस र ८३० ३४’ ०३” देखि ८३० ३८’ ३९”  पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८२.२६ वर्ग किलोमीटर रहेको छ भने समुद्र सतहबाट ७६० मीटर उचाईदेखि ३००० मीटरसम्मको उचाईमा यो गाउँपालिका फैलिएर रहेको छ । २०६८ सालको जनगणनाअनुसार जनसङ्ख्याको दृष्टिले जिल्लाका सातवटा स्थानीय तहमा तेस्रो र गाउँपालिकाहरु मध्येमा पहिलो स्थानमा यो गाउँपालिका पर्दछ
(जि.स.स., पर्वत, २०७४) । २०६८ सालको जनगणना अनुसार गाउँपालिकामा रहेका ५५६१ घरधुरीमा कुल जनसङ्ख्या २१४५४ बराबर रहेको छ । जसमा महिला ११७४२ (५४.७३) र पुरुषको सङ्ख्या ९७१२ (४५.२७) रहेको छ